NEWS

रवी लामिछाने नायक कि खलनायक ?

समाजको हितमा निडर र निर्भिक भएर बोल्दा, भ्रष्ट र भ्रष्टाचार र भ्रष्टाचारिहरुको पोल खोल्दा, हत्यारा र बलात्कारीहरुको पर्दाफास गर्दा, अनियमिततालाई उदाङो बनाउँदा, बिदेशमा रहेका चेलिबेटीको उद्दार गर्दा, मानव तस्करहरुको मुखुण्डो खोल्दा, भ्रष्ट नेता र कार्यकर्ताहरुका नालिबेली खोल्दा तथाकथित प्रेस काउन्सिल र स्वघोषित उपबुज्रुक पार्टीहरुका, नेताहरुका, ब्यापारीहरुका चम्चे ‘पत्रकार’ हरुको निद्रा किन हराम भो ? किन तिमीहरु …मा किर्ना परे जसरी यी रवी भाइको विरुद्धमा बुर्लुकबुर्लुक उफ्रिरहेको ? म यी रवी लामिछाने भाइलाई आजभन्दा बिसौं वर्ष अघिदेखी चिन्छु र तीन चार वर्ष हामीसँगै एउटै अफिसमा काम पनि गरेका थियौं । यिनी आज जसरी बोल्थे, त्यतिबेला पनि त्यसरी नै बोल्थे ।

फरक यति हो कि त्यतिबेला र अहिलेको उनले बोल्ने विषय फरक थियो । तथाकथित पत्रकार र नेताज्युहरु, कारवाही गर्ने हो भने पहिला १७ हजार निर्दोष नेपालीहरुलाइ मार्नेहरुलाई गर्नुस्, भ्रष्ट भएपनि राज्यको जिम्मेवार पदमा बसिरहेकाहरुको बिरुद्ध लेख्नुस् र कारवाही गर्नुस्, सर्वोच्च अदालतले आजिवन कैदको सजाय दिएको बालकृष्ण ढुङेललाई फेरि समाउनु पर्छ र दण्डहिनताको अन्त्य गर्नुपर्छ भनेर लेख्नुस् र थुन्नुस्, हजारौं सोझा जनताको अरबौं खाएर भागेका सुधिर बस्नेत किन जमानतमा रिहा भए ? त्यो लेख्नुस्, अरबौंको भ्रष्टाचारी चुडामणि शर्मा करोड दिएर कसरी छुटे ? न्यायालयलाई प्रश्न गरेको गरै गर्नुस्, तीस हजार तलब खाने मन्त्री र कर्मचारीहरुले करोडौंको घर कसरी बनाउँछ्न ? त्यतातिर दिमाग लगाउनु, चेलिबेटी कसरी बेचिन्छन र को को हुन दलाल भनेर खोज पत्रकारिता गर्नुस् । तपाइँहरुका लागि अरु पनि धेरै सामाजिक बिषयहरु छन् पत्रकारिता गर्न, त्यतातिर लाग्नुस् ।

रवी लामिछाने भाइ केही समय विदेश बसेर अहिले आफ्नै देशमा फर्केर आफ्नो तर्फबाट राम्रो र सराहनीय कार्य गर्दैछन् । उनी तपाइहरु जस्तै अरु (अल) पत्रकारहरुझैं कोठामा बसेर समाचार कोर्दैनन्, तपाइहरुजस्तै व्यापारी र नेताहरुको पैसाले बेलुकिपख कुनै भट्टिमा गएर रक्सी र मासु खादैनन् । उनले त समाजमा रहेका नराम्रा कुराहरूको विरुद्ध बोलेका छन् । त्यो पनि ज्यानको चिन्ता नगरेर । के हो प्रेस काउन्सिल ? के गर्यो यसले र यसमा आवद्ध पत्रकारहरुले अहिलेसम्म ? चरो मुसो मार्न सक्या छैन । पत्रकार महाशयहरु कुनै न कुनै दलमा बिकेकै छन् ।

तपाई स्वघोषित महाशय पत्रकार, भ्रष्ट नेताज्यु अनि भ्रष्ट कर्मचारीहरुलाइ रवी लामिछानेको निर्भिक पत्रकारिताले पोलेको हो, अरु अलपत्रकार महाशयहरुलाई रवीको वाहवाहीले जलन भएको हो । त्यसैले, यस्ता कुचेष्टाहरुद्वारा एउटा निर्भिक पत्रकारितालाई मार्ने कोशिस नगर्नुस्, कतै यस्ता कुचेष्टा तपाइहरु आफैलाई घातक सिद्द नहोस् । म रवी लामिछाने भाइको पक्षमा छु र यस्ता अरु….जालझेलको विपक्षमा छु ।

यी माथीका पंक्ती मैले लेखेको हैन । अग्रज गायक संजय श्रेष्ठ दाइले रवी लामिछानेबारे आफ्नो फेसबुक पेजमा लेख्नु भएको विचार हो । केही दिन यता रवी लामिछानेबारे बजारमा विभिन्न टिकाटिप्पणीहरु भैरहेका छन् । कसैले उहाँको समर्थनमा आफ्ना फेसबुकका भित्ता रंगाएका छन् कसैले विपक्षमा । तर, धेरैले भने उहाँको समर्थन नै गरेको देखिन्छ ।

उहाँले अमेरिकाको नागरिकता त्यागेको या नत्यागी नेपालमा बसेर पत्रकारिता गरेको भन्ने विषयमा विवाद छ । उहाँले त्यसको प्रक्रिया सुरु गरेको भन्नु भएको छ तर सरोकारवाला निकायले भने नागरिकता नत्यागेको र र्वक परमित नलिइ काम गरेको भन्दै सचेत गराएका छन् ।

यो कानुनसँग जोडिएको कुरा हो । कानुन सबैले मान्नुपर्छ । कानुन मैले बुझेको छैन, थाहा पाइन त्यसैले गल्ती भयो भनेर त्यसबाट उम्किन दुरदराजको ‘अनपढ’ नागरिकले पनि पाउँदैन । आफूलाई चौथो अंग भन्ने र कानुन उल्लंघन गर्नेलाई खबरदारी गर्दै आवाज औंला उठाउनेले त झनै कानुनको अक्षरस पालना गर्नै पर्छ । यदी कानुनको पालना गर्नु भएको छैन भने रवी लामिछाने दाइलाई पनि कारबाही हुनुपर्छ, यसमा मेरो मात्रै होइन कसैको पनि दुई मत रहँदैन होला ।

तर, हैन उहाँले भ्रष्ट राज्य संयन्त्र र भ्रष्ट नेता तथा कार्यकर्ताबिरुद्ध आवाज उठाएकै भरमा उहाँको विरोध गरिएको भने पक्कै पनि यो राम्रो होइन । शुसानका लागि खवरदारी गर्ने र जनताका पक्षमा वकालत गर्नेहरुका विपक्षमा हैन पक्षमा लाग्नुपर्छ । बेचिएका चेलिबेटीको उद्दार र भ्रष्टाचारको विरुद्धमा लाग्नेलाई सहयोग र साथ नै दिनुपर्छ ।

रह्यो उनको प्रस्तुती शैली, शब्दको । यसमा राज्यले अंगिकार गरेको र पेशाको मर्यादा भित्र भने जो कोही पनि बस्नैपर्छ । समयानुकुल आँफूलाई परिवर्तन गर्दै लैजानुपर्छ । जनताको इच्छा, आकांक्षा र आवश्यकतालाई मध्येनजर गरेर अगाडि बढ्नुपर्छ ।

र ,

मलाई लाग्छ त्यो उहाँमा ज्ञान छ । यहाँ टेबलमुनीबाट हरेक काम पनि हुन्छन् । हुने काम पनि टेबलमुनीबाट र नहुने कामपनि टेबलमुनीबाट कारोबार गरेपछि सलिटन्छ । यस्ता गैरकानुनी र भ्रष्ट संस्कारविरुद्ध काम गर्दा कसैको मुख थुन्ने प्रयास हुन्छ भने त्यसको विरुद्धमा निश्चय नै आवाज उठ्छ । यदी यसैगरी देश र जनताका लागि भनेर विदेशबाट फर्किएका नागरिकलाई हतोत्साही गरिन्छ र परिवन्दमा पारिन्छ भने यहाँबाट कयौं सक्षम पत्रकार र कलाकार पलायन हुनेछन् ।

त्यसैले मौलाउँदो यो भ्रष्टारी संस्कृति विरुद्ध रवी लामिछाने मात्रै होइन, उहाँ जस्ता दर्जनौं रवी लामिछानेहरु जन्मिनुपर्छ र राज्यसत्ताको दोहन गरेर टाट पल्टाउनेहरुको वास्तविकता जनतासामु छर्लंङ्ग पारिदिनुपर्छ । मैले पनि उहाँसँग अमेरिकामा स्टेज सेयर गरेकी छु । उहाँ देश र जनताका लागि निस्वार्थ भावले काम गर्नुपर्छ भन्ने व्यक्ति हो । त्यसैले यदी राज्यसत्ताको परिधीभित्र रहेर उहाँले काम गर्नु भएको छ भने उहाँलाई जनताले साथ दिनेछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close