NEWS

ब्याइफ्रेण्ड भनेको काले नै हुनुपर्छ गोरे त सुन तस्कर पनि हुन्छ’

गत महिना सामाजिक सञ्जाल फेसबुकमा एउटा ट्रोल चल्यो—गोरे त सुन तस्कर पनि हुन्छ ब्याइफ्रेण्ड भनेको काले नै हुनुपर्छ । ३३ किलो सुन तस्करी प्रकरणको भरिया नाइकेका रुपमा गोरे पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमा यो ट्रोल लोकप्रिय बनेको थियो ।

ट्रोल रमाइलो थियो, लोकप्रिय भयो त्यो एउटा पाटो होला तर यही ट्रोलसँग जोडिएर आएको प्रसंग भने पक्कै पनि राम्रो थिएन । गोरेले आफ्नै साथी भनिएका सनम शाक्यलाई करेन्ट लगाएर विभत्स तरिकाले हत्या गरे । त्यसको अभियोगमा उनी पक्राउ परे । तेरा लागि म जे पनि गर्नसक्छु भन्ने गोरेले सनमलाई मार्नुको कारण सुन थियो ।

३३ किलो सुन कहाँ गयो, कसरी हरायो, को सँग छ ? कसरी भयो गायव ? प्रश्नहरु यत्रतत्र थिए । त्यही प्रश्न राज्यले गोरेसँग खोज्दै थियो ।

गोरे पक्राउ परेपछि एकाएक विभिन्न खालका अडियोहरु सार्वजनिक भए । ती अडियोमा प्रहरी उच्च अधिकारी पनि थिए । कुनै अडियोमा प्रहरीका उच्च अधिकारीहरु गोरेसँग संवाद गरिरहेका थिए । त्यो भिडियो सत्य हो या हैन ? त्यो प्रहरीको अनुसन्धानले नै टुंगो लगाउला । तर, हो भने राज्यको कानुन कार्यान्वय गराउने प्रहरीनै तस्कारहरुसँग कसरी साँठगाँठ गर्दा रहेछन् र गैरकानुनी धन्दामा आँफै सामेल हुँदा रहेछन् भन्ने उदांगो हुनेछ । म कामना गर्छु प्रहरी उच्च अधिकारीको भनिएका ती अडियोमा सुनिएको त्यो आवाज प्रहरीको नहोस् । यदी भयो भने पक्कै पनि त्यो हाम्रा लागि दुर्भाग्य हुनेछ । र, प्रहरी प्रशासनप्रति रहेको हाम्रो जनविश्वास धुलीसात हुनेछ ।

हामीले जसलाई विश्वास गरेर पठायौं उसैले विश्वास घात गरेपछि हामीले कसलाई विश्वास गर्ने, अनि हाम्रो सुरक्षाको जिम्मेवारी लिएको प्रहरी नै गैर धन्दामा लागेपछि कसरी गर्ने उसको विश्वास ? यो प्रश्न जन्मिएको छ ।

गोरे पक्राउ परे । अदालतमा बयान सुरु भयो । बयानमा राज्यको चौथो अंग मानिने पत्रकारलाई प्रवेश नदिएको खबर आयो । जनता र राज्यलाई सूचनाको पहुँचमा जोड्ने पत्रकारलाई किन प्रवेश दिइएन ?, गोरेको खुला बयान किन लिइएन ?, किन गुपचुपमा लिनुपर्यो उसको बयान ? प्रश्नहरु सर्बत्र उठिरहेका थिए ।

ठिक, त्यही बेला अर्को अडियो सार्वजनिक भयो । अडियो प्रहरीका दुई उच्च अधिकारहरु गोरेको सफाय कसरी गर्ने भन्ने योजना बनाइरहेका थिए । धरानको जंगलमा लगेर इन्काउन्टर गर्ने उनीहरुको संवादमा सल्लाह थियो ।

बयानमा पत्रकारलाई प्रवेश नदिनु, गोरेको इन्काउन्टर अडियो सार्वजनिक हुनुले उक्त ३३ किलो सुन प्रकरणमा गोरेले प्रहरी उच्च अधिकारीहरु पनि संल्ग्न रहेको बताउने सन्त्रासले उनको सफाय योजना त बनेको होइन ? भन्ने आशंका जन्माएको छ । होइन भने कथित डनहरुलाई इन्काउन्टर गर्दा चर्को आलोचनाको शिकार भएको प्रहरीले फेरि किन त्यही आलोचनाको शिकार हुने कामको योजना बनायो ? फेरि पनि म भन्छु र कामना गर्छु, ती सम्पूर्ण अडियो जो सञ्चार माध्याममा आए ति फेक हुन् । र, प्रहरी प्रशासनमाथि जागेको आशंका दूर होस् र प्रहरी संगठन साँच्चै जनविश्वास योग्य होस्, जनप्रिय बनोस् ।

तर, मेरो कामना पूरा भएन भने जनताले कसलाई विश्वास गर्ने ? अनि यो प्रश्नको जवाफ म जस्ता नागरिकलाई कसले दिने ?

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close