काठमाडौं । कला, साहित्य अनि संस्कृति हाम्रा पहिचान र चिनारी हुन् । यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो । पछिल्लो दशक हाम्रो कला, साहित्यमा मौलिकता हराउँदै गएको छ ।
हुनत म समकालीन र अग्रजहरुलाई आग्रह गर्दै छैन र पछिल्लो पुस्तालाई सल्लाह दिन पनि खोजिरहेको हैन । मात्र म मेरो विचार राख्दैछु । यो पछिल्लो दशक हामी गायक गायिका जन्मियौं र हुर्कियौं । यही दश वर्षमा हाम्रो गीतमा केही विकृति र विसंगती पनि भित्रिए म पनि यही पुस्ताको भएकाले मैले पनि यसको नैतिक जिम्मेवारी लिनुपर्छ होला र लिन्छु पनि । तर, म स्वयम्ले भने गल्ति गरेको छु भन्ने लाग्दैन ।
व्यवसायिकताका नाममा केही गल्ति भए । भइपनि रहेको छ । तर, यसलाई सच्याउन हामी कोही पनि तत्पर देखिएका छैनौं । निश्चय पनि लगानी गरेपछि त्यसको प्रतिफलको अपेक्षा गर्नु अपराध होइन । र, गर्नु पनि पर्छ । तर, केमा लगानी गरिरहेका छौं ? कस्तो सिर्जनामा लगानी गरिरहेका छौं ? त्यसमा भने हामीले इमान्दार भएर सोच्ने बेला आइसकेको छ । चाउ चाउ बेच्नु र गीत बेच्नु फरक कुरा हो ।
राम्रो सिर्जनामा लागानी गरेको छौं भने त्यसको ढिलो चाँडो प्रतिफल आउँछ । नआत्तिए हुन्छ । तर, कमजोर सिर्जनामा लगानी गरेका छौं भने त्यो विक्री हुँदैन । त्यसैले हामीले यसमा ध्यान दिनै पर्छ ।
छिटो प्रतिफल खोज्ने र राताराता हिट हुने नाममा हामीले हाम्रो मौलिकता माथि नै प्रहार गरिरहेका छौं । हिट र लोकप्रिय शब्द आफैमा फरक अर्थ बोकेका शब्द हुन् । तपाइँहामीले यसमा ख्याल गर्नु पर्ने दिन आइसकेको छ । थोरै तर राम्रो गरे त्यो सदाका लागि हुन्छ । चीरकालका लागि हुन्छ ।
तर, तडकभडक गरे त्यो दुई दिनका लागि हुन्छ । सबैले बिर्सिएर जान्छ । त्यसैले आज भन्दा पनि भोलीका लागि सोचेर गरे त्यो आफ्ना लागि पनि हुन्छ, देश दुनियाका लागि पनि हुन्छ । आफ्नो अस्तित्व रक्षा पनि हुन्छ ।
हाम्रो संस्कृति, मौलिकता र पहिचान रहे मात्रै हामी रहन्छौं । हाम्रो मौलिक संस्कृति नै नरहे कहाँ हामी रहन्छौं र ? त्यसैले हामी लोक गायक गायिकाले सोच्ने बेला आइसकेको छ । सस्तो प्रचार र तत्कालको फाइदाका लागि भन्दा पनि हामीले हाम्रो आउँदो पुस्ताका लागि पनि हाम्रो मौलिकता साँचेर राखिदिनुपर्छ । उनीहरुलाई सगौरव आफ्नो पहिचान बोकेर बाँच्ने वातावरण बनाइदिनुपर्छ । सायद यही नै हाम्रो दायित्व हो, यही नै हामी कलाकारको धर्म हो ।