टाउको माथि खुट्टा हुँदैन

कति काट्छौ कुराहरु अझै काट्दै गर ।
म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर ।

अग्रज गायिका कुन्ति मोक्तानको सुरिलो स्वरमा सजिएको यो गीत हामी सानो छँदा नै हाम्रो जिव्रोमा झुण्डिएको थियो । राम्रो लाग्थ्यो । गाउँथ्यौं जानी नजानी । धेर थोर यसको अर्थ पनि थाहा थियो । तर, यसको गाम्भीर्यता भने भख्खर थाहा पाउँदैछु ।

समय सँगै उमेर बढ्यो । उमेर बढेसँगै संघर्ष सुरु भयो । संघर्षले केही पाठ सिकायो । त्यही पाठले धेरथोर सफलता पनि दियो । सफलतामा साथ दिनेहरु पनि भेटिए । तर, निकै कम । धेरै भेटिए खुट्टा तान्नेहरु । रिस र डाहा गर्नेहरु ।

नेपालीमा एउटा आहान छ, रिस खा आफू, बुद्धि खा अरु । अर्थात रिसले आफैलाई घात गर्छ । यो आहान तपाइँ अनि म सबैलाई थाहा छ । तर, पनि यसलाई सकारात्मक चरितार्थ गर्न भने खोज्दैनौं । हुन त यो मानवीय स्वाभाव पनि होला । तर, के मानवीय स्वाभाव हो भन्दैमा यसलाई फलो गर्नैपर्छ भन्ने छ र ?

तपाइँ आफ्नो कार्यालय जानोस् या समाज । तपाइँको कुरा काटिरहेकै हुन्छन् । तपाइँ कुनै कम्पनी जानोस् या म कुनै स्टुडियो जाउँ कुरा काट्नेहरु बाक्लै भेटिन्छन् । अरुको कुरा खोतल्यो । नराम्रा कुरा खोज्यो । त्यसलाई छरपस्ट पार्यो । अनि त्यही आत्मरतीमा रमायो ।

के यही हो हाम्रो काम ? आखिर यसले कसलाई गर्छ फाइदा ? न तपाइँलाई, न मलाई । एकातिर समयको बबार्दी, अकोएतर्फ आफ्नै खराव प्रवृत्तीमा बढोत्तरी । यसले समय मात्रै वर्वादी गर्दैन हाम्रो व्यक्तिगत छवीमा पनि आँच पुर्याउँछ । किन यसमा हाम्रो ध्यान जाँदैन ?

अर्को एउटा उखान छ नेपालीमा । अलि अप्रिय लाग्न पनि सक्छ तर, कटु सत्य हो । सुन्दा कर्कस लाग्न सक्छ तर, तीतो यर्थाथ हो । ‘काम छैन बुहारी….’

हाम्रो कमजोरी यही त हो । अझ, विशेषत हामी महिलाहरुको । हामी आफ्नै कुरा काट्छौं । आफ्नै घरको गोपनियता छरपष्ट पार्छौं । सासुले बुहारीको अनि बुहारीले सासुको । कसैलाई नसुनाउनु है भन्दै सबैको कान फुक्छौं । एकले अर्कालाई गर्दै एककान दुईकान मैदान हुन्छ । अन्यथा अर्थ नलागोस । महिला भएर महिलाको विरोध गरका पनि हाइन । यही प्रवृत्तिले गर्दा सायद भनिएको होला हामीलाई ‘रुद्र घण्टी नभएको जात ।’

कमजोरी हामी आँफैमा छ । सुधार्नु पर्ने हामीले आँफैलाई छ । बन्नु हामी आँफै छ । आफ्ना लागि गर्नु आँफैले छ । सकेको आँफै गर्नुछ । नसकेको सहयोग पनि लिनुछ । त्यसो भए किन हामी एकले अर्कोको उछितो काढ्छौं । सके आफैं गरौं । नसकेको सहयोगका लागि हात फैलाऔं । तर, विन्ती खुट्टा नतानौं । सोचौं खुट्टा तलै बसेर तान्ने हो । किनकी टाउको माथि खुट्टा हुँदैन ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email