तिज गीत कि छाडा गीत ?

हरितालिका तिज महिलाहरुको पर्व । भब्य तरिकाले बर्सेनी मनाइँदै आइएको छ । हरेक वर्ष कलकारहरुले तिज गीत निकाल्नछन् । म पनि निकाल्छु । यो वर्ष पनि निकाल्दैछु । तपाइँहरुलाई नचाउने र आफैँ नाच्ने गीत ।
तिज महिलाहरुको पर्व हो । यसमा उत्साह हुन्छ । वर्षमा एक पटक आउने यो पर्वमा उत्साह मिसाउनु पनि पर्छ । म पनि उत्साहित हुन्छु । गीत गाउँछु, भ्याएसम्म देश विदेशका कार्यक्रममा सहाभागी हुन्छु । सँगै नाच्छु र नचाउँछु पनि ।

म पनि तपाइँ जस्तै तीजको व्यग्र प्रतिक्षामा छु । यसै मेसोमा तपाइँलाई भेट्न हतारिरहेकी पनि छु तपाइँकै शहरमा र तपाइँ रहेको देशमा । यो वर्ष पनि हामी भब्य र सब्य तरिकाले तिज मनाउनुपर्छ । मनैबाट । धित मर्नेगरी । गत वर्ष जस्तै । तर, सब्य तरिकाले ।

तर, मलाई आजकाल चिन्ता लाग्न थालेको छ । जेठमै तिज गीत निकाल्न थालिएको छ । तिज भदौमा हुन्छ । अहिले नै तिज गीतहरु बज्न थालिसकेका छन् । अघिल्ला वर्षहरुमा पनि यसै गरियो । अहिले पनि त्यसकै पुनराबृत्ति देखिएको छ । जेठ मर्न नपाउँदै बजारमा तिज गीत आए । त्यसलाई प्रोमोशन गरियो । सञ्चार माध्यमले पनि त्यसलाई स्थान दिए । किन हो मलाई ठोष कारण त थाहा छैन । तर, मेरो अनुमान छ–आर्थिक कारण नै होला ।

हरेक कुराको समय हुन्छ । समय अनुसार चलेको मात्रै राम्रो हो । फल पनि पाके पछि मात्रै खाएको राम्रो हुन्छ नकि काँचै ? तिज आउनु दुईमहिना अगाडिबाटै ठाँटका साथ रातो साडीचोलो र छड्के तिलरी लर्काएर हामी हिँड्न थालेका छौं । यो हाम्रो परम्परा जस्तै बनिसकेको छ । दिनैपिच्छे पालैपालो घरमा दर खान थालिएको छ । गीतमा मात्रै दरमा दारु भनेर गाइएको छैन । घरका पनि दरसँग दारु मिसाउन थालिएको छ । त्यसैले त मलाई चिन्ता लाग्न थालेको छ । अब यो तीजसँग सब्य भन्ने शब्द जोड्न नपाइने अवस्था आएको छ ।

तीज गीतका नाममा अस्लिल र दुईअर्थी शब्द राखेर गीत गाउन थालिएको छ । तिज गीत छाडा हुन थालेका छन् । त्यसमा माइति र चेलीको आत्मीयता होइन छाडा माया प्रेम र व्यबसायिकता घोल्न थालिएको छ ।

गीतसँगै भिडियो आइरहेका छन् । जुन परिवारसँगै बसेर हेर्न सकिने अवस्था छैन । बाउछोरी बसेर टिभी हेर्दा तीज गीत आयो भने च्यानल चेन्ज गर्नुपर्ने भएको छ । यसले तिजको गरिमा घटाउँदै लगेको छ । म पनि एउटा कलाकार हुँ । तिज गीत गाउने कलाकार म पनि हुँ । त्यसैले विकृत बन्दै गरेको यो तीज गीतको नैतिक जिम्मेवारी सायद मैले पनि लिनुपर्छ होला । र, लिन्छु पनि । तर, म विन्ती गर्छु मेरा साथिहरुलाई तीजको मर्यादा भुलेर यसको हुर्मत लिने काम नगरौं ।

गल्ती हाम्रो पनि छ । यहाँ हाम्रा थुप्रै सांगीतिक संगसंगठनहरु छन् । उनीहरुको पनि दायित्व हुन्छ होला यहाँ भइरहेका कमीमजोरी सच्याउने र गलत बाटो हिड्नेहरुलाई सचेत गराउने । यहाँ मैले कलाकारलाई सिस्नो पमानी लगाएर टुंगोमा ल्याउनुपर्छ भनेको होइन, गीत र भिडियोमा सेन्सर गर्नुपर्छ पनि भनेको होइन । तँ गीत गा र तँ नगा भनेर अंकुश लगाउनुपर्छ पनि म भनिरहेको छैन । जे हो त्यसको गरिमामाथि प्रहार गरिनु हुँदैन र त्यसो गर्नेलाई सम्झाउन सकिन्छ कि भन्ने मात्रै हो ।

तिज र तिज गीतका नाममा विकृति भित्रिएको मात्रै छैन, त्यो छताछुल्ल भइसकेको छ । पोखिएर छताछुल्ल भएको यो परिस्थितीबाट सम्हालिएर अघि बढ्न नसके तिज विष पनि बन्न सक्छ र यसको अस्तिव नै नामेट पनि हुनसक्छ । त्यसैले यसमा हामी सबै बेलैमा सचेत हुनुपर्छ । आआफ्नो तहबाट सम्हालिएर तिजलाई भब्य र सब्य तरिकाले मनाउन सक्नु पर्छ । हैन भने समय घर्कीसकेको हामीलाई पत्तो नहुन पनि सक्छ ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email