काठमाडौं (पहिचान) कार्तिक ३० – गायिका सुनिता दुलालले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण बिस्तारै सकारात्मक हुँदै गएको बताएकी छन् । केही वर्ष अघिसम्म यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेपनि समयसँगै विस्तारै समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन थालेको उनको भनाइ छ ।“केही वर्ष पहिले नील हिरा समाजले चलाउने टेलिभिजन शोमा म सहभागी हुँदासम्म पनि यो समुदायलाई त्यती धेरै व्यक्तिले राम्रो नजरले हेर्दैन थिए, अहिले भने विस्तारै सबै व्यक्ति समान हुन् भन्ने मानसिकताको विकास हुँदै गएको छ,” गायिका दुलालले भनिन्, “चेतनाको विकास हुँदैगएपछि सबै समान हुन् भन्ने हुन्छ र सबैलाई समान रुपमा हेरिने समतामुलक समाज हुन्छ ।” अझै पनि अधिकांश समलिंगी तेस्रोलिंगी नखुल्ने गरेको भन्दै उनले पहिला आफैं खुल्नु पर्नेमा जोड दिइन् । “समलिंगी तेस्रोलिंगीले पहिला म यस्तो मान्छे हुँ भनेर खुलेर आउनु पर्छ, हिनताबोध भन्दा पनि फरक यौनिकताप्रति गौरव गर्नसक्नु पर्छ,” दुलाल भन्छिन्,“आफैलै आफैलाई लुकाएर होइन खुलेर अधिकारका कुरा नगरेसम्म समाजमा पनि चेतनाको विकास हुँदैन, समान नजरले मान्छेले हेर्दैनन् ।” समलिंगी तेस्रोलिंगीका विषयमा गीत नलेखिनु र नगाइनुको कारण उनीहरु खुलेर नआउनु नै मुख्य कारण रहेको उनको जीकिर छ । “हामी गीत गाउँला तर उहाँहरु हामी यस्तो भनेर खुलेर नआउँदा उहाँहरुले आफूलाई गिज्जाएको हो कि भन्ने ठान्नुहोला जस्तो हामीलाई लाग्छ,” गायिका दुलालले भनिन्, “त्यसैले पहिला उहाँहरु आफ्नो अधिकारका कुरा गर्दै खुलेर आएपछि मलाई लाग्छ सबैले गीत गाउने वातावरण बन्छ ।” उनले फरक पहिचान भएकै कारण कसैले कसैलाई विभेद गर्नु पर्ने कारण नरहेको बताइन् । महिला पुरुष सरह समलिंगी तेस्रोलिंगी पनि समान रहेको भन्दै उनले यौनिक तथा लंैगिक अल्पसंख्यकलाई हेला होचो गर्नु पर्ने कारण नरहेको बताइन् ।
Source : http://pahichan.com/