काठमाडौं । हिन्दूहको महान पर्व बडा दसैं हाम्रो घर आगनमै भित्रिसकेको छ । दसैं भित्रिएसँगै यसको चटारो पनि सुरु भएको छ । काठमाडौंमा सुरु भएको दसैं बजार र घर फर्किन बसपार्क पुग्नेहरुको भीडले पनि दसैैंले नेपालीलाई छपक्कै छोपेको स्पष्ट पारिरहेको छ ।
१५ दिनसम्म मानाइने यो पर्वलाई हामी हर्सोल्लासका साथ मनाउने गर्छौं । दानव राजको अन्त्य गर्दै देवराजको सुरुवात भएको र असत्य माथि सत्यको जीत भएको पर्वको सम्झनामा यो पर्व मनाइँदै आएको धार्मिक तथा पौराणीक विश्वास छ ।
जे होस हामी यो पर्व वर्ष दिनको दुःख, पीडा, वेदना र पीर भुलेर मनाउँछौं, टाडा टाडा रहेका आफ्ना आफन्त भेला भएर मिठो मसिनो खाएर मनाउँछौं । आफू भन्दा ठूलाको हातबाट आर्शिवाद लिएर मनाउँछौं ।
हरेक क्रियाको प्रतिक्रिया हुन्छ भन्ने न्यूटनको सिद्धान्त छ । यो सिद्धान्त दसैंमा पनि लागु हुन्छ । यसमा पनि केही विकृति र विसंगती भित्रिरहेका छन् । आफ्नो हैसियत भन्दा पनि माथि उठेर आफन्त तथा छिमेकमा देखाउन कै लागि पनि बढी नै तडकभडक गर्ने गरेको पनि पाइन्छ । आफ्नो क्षमताले भ्याउने भन्दा पनि धेरै तडकभडक गर्ने गरेको देखिन्छ ।
कमजोर आय स्रोत भएकाहरुले पनि ऋण धन गरेर यसरी मनाउने गर्दा दसैं वास्तवमा दसैं भन्दा पनि दशा भएर आउने गरेको छ । वर्षमा एक पटक मनाइने चाडले कतिलाई वर्षभरीका लागि ऋण बोकाएर जाने गरेको छ । एक दिन कसैलाई देखाउने नाममा वर्षभरी ऋणको बोझले किचिएका र त्यसकै शिकार हुँदा जिन्दगी देखि नै विरक्तिएर जिन्दगीलाई समाप्त पारेका दुःखद समाचारहरु पनि सुनिन्छन् ।
असत्य माथि सत्यको विजयी भएको सम्झनामा मनाइने यो पर्वलाई त्यसै अनुरुप मनाऔं, ठूलाबाट आशिर्वाद लिएर सानालाई चोखो मनले आशिर्वाद दिएर मनाऔं । आफ्नो गक्ष अनुसार परम्परा र हाम्रो संस्कृतिको सम्मान गर्दै दसैं मनाऔं । देश तथा विदेशमा रहेन सवैसवैलाई मेरो तर्फबाट २०७४ सालको बडा दसैंको हार्दिक मंगलमय सुभकामना । विजया दशमीले सबैको रक्षा गरोस । सबैको मनोकांक्षा पूरा होस । शुभकामना !!!