गायिका सुनिता दुलालले अपांगता भएका व्यक्तिहरुका लागि भवन निर्माण गरिदिने जनाएकी छन् । सिन्धुपाल्चोक नेत्रहीन संघसँगको सकार्यमा उनले एकतले पक्की घर निर्माण गरिदिन लागेको बताएकी छन् ।
३६ लाख रुपैयाँमा फर्निचर सहितको घर निर्माणका लागि उनले देश तथा विदेशका विभिन्न ठाउँमा च्यारिटी शो समेत गर्दैछिन् ।
“अपांगता भएका व्यक्तिहरु बस्ने तथा सिपमुलक र बाध्यबाधनको कक्षा लिन मिल्ने सुविधासम्पन्न भवन निर्माण गरिदिने मेरो लक्ष्य अनुसार सहयोग शंकलनका लागि जुटेकी छु,” उनले भनिन्, “यसका लागि सुनिता दुलाल फाउन्डेशन र नेत्रहीन संघले सहयोग रकम जुटाउने छ ।”
सिन्धुपाल्चोक जिल्लाका दृृष्टिविहीन तथा अल्पदृष्टिविहीन व्यक्तिहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने अभिप्रायले आवाससहितको तालिम केन्द्र तथा कार्यालय सञ्चालनका लागि मेलम्ची नगरपालिका भित्र भवन निर्माण गरिने उनको योजना रहेको सुनाइन् ।
“जिल्लामा सयौंको संख्यामा दृष्टिविहिन हुनुहुन्छ । भरपर्दो संस्था तथा सहयोगको अभावमा उहाँहरु घरमै खुम्चिएर बस्नु परेको छ,” दुलालले भनिन्, “त्यसैले आवास तथा कार्यालय प्रयोजनका लागि भवन निर्माण गर्न सकियो भने उहाँहरुलाई सवल र सक्षम बनाउन सकिन्छ भन्ने मेरो लक्ष्य छ ।”
दुई वर्षभित्र भवन निर्माण गरिसक्ने योजना गरेको उनले बताइन् ।