शुभकामना नयाँ वर्षको

पछिल्ला केही वर्ष यता नेपालमा पनि नयाँ वर्ष मनाउने प्रचलन बढेर गएको छ । नेपाली नयाँ वर्ष भन्दा पनि अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन संस्कृतिकै रुपमा अगाडि बढेको देखिन्छ । पाश्चात्य संस्कार, संस्कृति र शैली विस्तारै अवलम्बन हुन थालेको छ । विश्वव्यापी पहुँच भएका पाश्चात्य मुलुकका सञ्चार माध्यम र नेपाली डायस्पोरिक पपुलेशनको प्रवभाव नेपालमा पनि परेको देखिन्छ ।

राम्रो कुराको नक्कल गर्नु आफैंमा नराम्रो होइन । त्यो त अग्रगमनको परिचय पनि हो । तर, आँखा चिम्लिएर गरिने कपी पेष्ट संस्कारले भने नाफा भन्दा पनि घाटा नै हुन्छ । नयाँ वर्ष मनाउने नाममा हुल हुज्जत गर्ने र आफ्नो औकात भन्दा बढी खर्च गर्ने प्रचलन राम्रो हुनै सक्तैन । सबै काम छोडेर यसैमा केन्द्रित हुन राम्रो हो जस्ता मलाइ लाग्दैन ।

आफ्नो संस्कार र संस्कृति भुल्ने र आयातित संस्कृतिको पछि लाग्नु हाम्रो संस्कार, संस्कृति र परम्परालाई भुल्नु सरह हो । पाश्चात्य संस्कृति सबै राम्रो र आफ्नो सबै नराम्रो ठान्नु भुल हो । अंग्रेजी नयाँ वर्ष मनाउनु आफैमा नराम्रो हुन सक्तैन । बैंक अथवा खल्तीमा रहेको पैसा बजारमा मुभ हुनु आफैमा राम्रो हो । तर त्यो पैसा ऋण धन गरेर खर्च गरेको हो अथवा खर्च गर्न सक्ने हैसियत अनुसार खर्च गरिएको भन्ने कुराले अर्थ राख्छ ।

हामी युवा (म पनि यसै भित्र पर्छु । त्यसैले यसको भागीदार म पनि हुनुपर्छ ।) पछिल्लो समय आफ्नो समय र पैसा उत्पादन मुलक काममा भन्दा पनि अनुत्पादक क्षेत्रमा लगाइरहेका छौं । रमाइलो गर्नका लागि बाहना मात्रै खोजिरहेका हुन्छौं । कुनै सामान्य उपलब्धी होस् या खुसी, दुःखमा होस् या सुखमा पेय पदार्थलाई साथी बनाइरहेका हुन्छौं । सायद यो हाम्रा लागि राम्रो बाटो नहुन सक्छ । यसमा हामीले सोच्ने बेला आइसकेको छ ।

खैर,

वर्ष नयाँ आएको छ । जिन्दगी तपाइँ हाम्रो आफ्नै हो । भविश्य आफैले बनाउने र जिउने हो । भविश्य कस्तो हुने हाम्रो हातमा छ । त्यसैले आजैबाट संकल्प गरौं सुन्दर भविश्यको । आजैबाट प्रण गरौं सुखी जीवनको । आजैबाट खाका कोरौं अदृश्य इष्यायोग्य आदर्श भविश्यको । र, काम थालौं यसका लागि मुठ्ठी कसेर ।

अन्त्यमा, लाखौंलाख शुभकामना मेरा लाखौं सहह्रदयी स्रोता तथा दर्शकलाई । शुभकामना नयाँ उल्लास, उत्साह र सुखी जीवनको । शुभकामना नयाँ जिन्दगीको सुरुआतको ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email