सिर्जना नागरिकका लागि होस्

यो पटक सुदुर तथा मध्यपश्चिमका धेरै जिल्ला घुम्ने अवसर प्राप्त भयो । चेतनामूलक सांगीतिक कार्यक्रम लिएर स्रोता तथा दर्शकको बाक्लो उपस्थिति भएका ठाउँमा पुग्ने वातावरण मिल्यो । हरेक कार्यक्रममा दर्शकको उत्तिकै बाक्लो सहभागिताले म प्रतिको दर्शक तथा स्रोताको माया प्रत्यक्ष अनुभूत गर्ने मौका पनि मिल्यो ।

दर्शकको बाक्लो उपस्थितिले मलाई थप जिम्मेवारी बोध भएको छ । यो पटक मैले बोध गरेको एउटा कुरा हो व्यवसायिक गीत मात्रै होइन चेतनामूलक गीत पनि गाउनुपर्छ । यो पक्षले मलाई घच्घच्याइरह्यो । र, मैले अठोट पनि गरेकी छु । मनोरन्जनसँगै चेतनामूलक गीत पनि गाउँछु भन्ने । जसले दर्शक तथा स्रोतामा केही चेतना पुर्यायोस् । जुन गीत चेतनामूलक कार्यक्रममा गाउन सकियोस् । त्यसको सान्दर्भीकताले कार्यक्रमलाई थप सार्थक र उपलब्धीमूलक बनाओस् ।

गीतसंगीतमा समाज परिवर्तन गर्ने ताकत हुन्छ । गीतसंगीतले समाज परिवर्तन मात्रै होइन व्यवस्था बदल्ने ल्याकत पनि राख्छन् । त्यसैले त हो हरेक क्रान्तिमा होमिने राजनीतिक दलसँग सांस्कृतिक विभाग हुन्छ । जसले क्रान्तिकारी गीत मार्फत आफ्नो अभियानमा लामबद्ध हुन नागरिकलाई आह्वान गर्छन् । मञ्चमा भाषण गरिने फोस्रा शब्दमा भन्दा गीतसंगीतमा हजार गुणा बढी प्रभावित पार्ने ताकत हुन्छ ।
अहिले क्रान्ति सकिएको छ । व्यवस्था परिवर्तन भइसकेको छ । देशले नयाँ गती समात्नु पर्ने बेला आइसकेको छ । त्यसैले अब हामी सर्जक तथा श्रष्ठाहरुले आआफ्नो ठाउँबाट चेतनाका लागि गीत गाउनु पर्ने अवस्था आएको छ । नागरिकको चेतना अभिबृद्धीका लागि भूमिका निर्वाह गर्ने समय आइसकेको छ ।

सुद्ध मनोरञ्जन मात्रै होइन इन्फोटेन्मेन्ट सिर्जनामा जोड दिनुपर्ने बेला आइसकेको छ । हामी सर्जक राष्ट्रका गहना हौँ भने हामीले आफ्नो जिम्मेवारी बोध गर्ने बेला आएको छ ।
लोक भाकामा चेतनाका शब्दहरुसँग स्वर खेल्नसके त्यसको प्रभाव निश्चय नै समाजमा पर्ने थियो । गीती लय र स्थानीय भाकामा चेतनाका शब्दहरु भर्नसके त्यसको महत्व झनै बढ्ने थियो । यस्ता सिर्जनाले सर्जकलाई आत्मसन्तुष्टि त दिने नै छ सँगै स्रोता तथा दर्शकमा पनि त्यसको प्रभाव पर्ने थियो ।

त्यसैले म भन्छु, सिर्जना आम नागरिकका लागि होस्, त्यस्तो सिर्जना मनोरञ्जनसँगै चेतना र सन्देश प्रवाह गर्नेहोस् ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email