सरकार हामीलाई रोयल्टी देऊ !

नेपालमा सांगीतिक इतिहासका सुरुआत भएको करिब सात दशक हुन लाग्यो । रेडियो नेपाल तत्कालीन नेपाल रेडियोको सुरुआतसँगै नेपालमा सांगीतिक सुरुआत भएको पाइन्छ । त्यसअघि भारतका विभिन्न राज्यमा गएर गीत गाएको पाइन्छ तर त्यो त्यती व्यावाहारिक थिएन भने सहज पनि । संगीतको शोख भएकाहरुले मात्र भारत गएर गीत गाउन सक्थे । भारत गएर नेपाली गीत गाउनु जति खर्चिलो थियो त्यती नै महत्वाकांक्षी पनि ।

२००७ सालमा रेडियो नेपालको स्थापना र प्रशारण सँगै नेपालमै गीत रेकर्ड गर्न हुन थाल्यो । तर, रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गर्नु पर्ने भएकाले त्यो सबैको पहुँचमा थिएन । गीत गाउन चाहने धेरै तर स्टुडियो रेडियो नेपालको मात्रै भएकाले गीत गाउन स्वर परीक्षा उत्र्तीण गर्नु पर्ने नियम बसालियो । स्वर मात्रै होइन संगीत र शब्दमा पनि सेन्सर हुन्थ्यो ।

यही परिस्थितिबाट गुज्रिनु परेकाले संगीतले नेपालमा लामो समय व्यवसायिकता ग्रहण गर्न सकेन । तर, जब रत्न रेकर्डिङ संस्थानको स्थापना भयो गीत रेकर्डिङका लागि कही सहज भयो । प्रजातन्त्र आयो । गीतमा सेन्सर कम हुन थाल्यो । निजी लगानीमा रेकर्डिङ स्टुडियो खुल्न थाले । गीतहरु गाउन रेडियो नेपाल नै कुर्नु पर्ने अवस्थाको अन्त्य भयो । स्वर परीक्षा नदिई पनि गीत गाउन सकिने भयो । गीतमा सेन्सर पनि हुन छाड्यो । गीत गाउनेको संख्या बाक्लियो ।

२०५४ सालमा निजी तवरबाट नेपाल वातावरण पत्रकार समूहले रेडियो सगरमाथा एफएम प्रशारणमा ल्याएपछि नेपाली आकाशमा एकपछि अर्को एफएमहरु खुल्न थाले । गीतहरु एफएमा बज्न थाले । यसपछि गायक गायिकाको संख्या पनि ह्वात्तै बढ्यो ।

संगीतले पनि उद्योग कै रुप ग्रहण गर्न थाल्यो । हजारौं गायक गायिका भए । संगीतको व्यवसायिकता र अधिकारका लागि भन्दै थुप्रै संघसंस्था खुले । तिनले केही काम पनि गर्न थाले । अहिले संगीतको जनरा अनुसार संगठीत हुने क्रम सुरु भएको छ ।

यी संस्थाहरु कलाकारको अधिकारका लागि भनेर सरकारसँग लबि पनि गरिरहेका छन् । सीडी क्यासेटको जमाना अन्त्य भइसकेपछि अहिले नेपाली संगीत उद्योग करिब करिब संक्रमणकालमा गुज्रिरहेको छ ।
सीआरबीटी पीआरबीटीको युग पनि अन्त्य भइसकेको छ । जमाना युट्युबको आएको छ । तर हामी सबै यसमा अभ्यस्त भइसकेका छैनौं । यसबाट कसरी लगानी उठाउने र व्यवसायिक रुपमा अगाडी बढ्ने भन्ने टेक्निकल ज्ञानको कमी छ ।

पाँच सय भन्दा धेरै एफ छन्, सय बढी टेलिभिजन छन् । यी रेडियो र टेलिभिजनमा हाम्रा गीत दिनकै दर्जनौं पटक बज्छन् । तर, त्यसबापत रोयल्टी पाउने भरपर्दो प्रणाली राज्यले विकास गरिदिन सकेको छैन ।
हाम्रा गीत दिनहुँ कयौं सार्वजनिक कार्यक्रम र सार्वजनिक सवारी साधनमा बजिरहेका हुन्छन् तर त्यसबाट हामी सर्जकलाई कत्ति पनि रोयल्टी पाउने व्यवस्था छैन । मलाइ लाग्छ स्रोता दर्शकमा विस्तारै सर्जकको सिर्जना सुन्दा वा हेर्दा आफूले केही रकम खर्चिनु पर्छ भन्ने भावनाको विकास विस्तारै हुँदै गइरहेको छ । तर, यसका लागि भरपर्दो प्रणालीको विकासको खाँचो छ ।

थोरै भए पनि सञ्चार माध्यमले श्रष्टालाई रोयल्टीको व्यवस्था गरिदिन सके संगीत अझै व्यवसायिक हुने थियो । संगीतमा लाग्ने हामीलाई अझै राम्रो सिर्जना दिने जोश र जाँगर आउँथ्यो । अनि बढ्दो स्वस्थ प्रतिस्पर्धाले तपाइँ स्रोता दशर्क माझ आउने गीत संगीत पनि उत्कृष्ठ हुने थिए । जति व्यवसायिकता बढ्दै जान्छ त्यती नै राम्रो सिर्जना बजारमा आउँछ । कला, साहित्य र सिर्जना भनेको देशको गौरव हो भने पहिचान र चिनारी पनि ।

त्यसैले यसका लागि काम गरिरहने संस्थाप्रति मेरो सँधै सहयोग रहेनेछ भने भइरहेको कामप्रति समर्थन र ऐकबद्धता । हाम्रो मन मस्तिष्क उच्च व्यवसायिकतातर्फ लागिरहुन् । नेपाली गीतसंगीतप्रति हामीले गर्व गर्ने दिन आओस । संगीतले पनि देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउन सकियोस् ।

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email