काठमाडौं । अग्रज दाई प्रेमध्वज प्रधान उमरेले आज हामीलाई बाटो देखाउने ठाउँमा हुनुहुन्छ । उहाँका सयौं गीत आज पनि जनजनमा उत्तिकै लोकप्रिय छन् । दर्जनौं कालजयी गीतका सर्जक उहाँको नाम सुन्दा पनि हामी नतमस्तक हुन्छौं ।
कर्णप्रिय उहाँको स्वर सुनेर आज पनि हामीलाई उत्तिकै लोभ लाग्छ । जति हिजो लाग्थ्यो । संगीतका सुरसँग खेल्ने हुन् या संगीतका सुर सुनेर रमाउनेहरु सबैलाई मोहित बनाउँने उहाँका गीत सुन्न आज पजि हामी त्यती नै हतारिन्छौं जति हिजो हतार गथ्र्यौं । र भोली पनि यो हतारो र प्यास रहिरहने छ ।
तिलम्मी आवाजका धनी दाइका लाखौं फ्यान छन् त्यसमध्ये म पनि हुँ । त्यसैले उहाँको जन्मदिनको मौका छोपेर म पनि उहाँको घरमा सुटुक्क पुगें सांगीतिक संघसँगै ।
सांगीतिक संघ नेपाल ८२ औं जन्मदिनको अवसर पारेर दाइको घरमा पुग्यो । केक र खादा बोकेर पुगेका हामी कलाकर्मी देखेर खुसीले दाइको गह भरिएको थियो । सायद सायदै यसरी हुने सम्मानले उहाँका आँखा रसाएका थिए ।
स्वर्णम युगको स्वर्णिम आवाज दाइको सम्मानमा आयोजना भएको उक्त कार्यक्रमले अग्रजप्रतिको सम्मान प्रकट गरिरहेको थियो भने उहाँबाट हामी कलाकर्मीले पनि आर्शिवाल लिने मौका पाइरहेका थियौं । हम्मेसी यस्तो अवसर जुर्दैन, सायद हामी भाग्यमानी थियौं, उहाँको जन्म दिन मनाउन पायौं र केही अनुभव सुन्ने मौका पायौं ।
उमेरले ८ दशक पुगे पनि उहाँमा गीतसंगीतप्रतिको मोह अझै पातलिएको छैन । उहाँले गीतार उठाउनु भयो । गीतको मुखडा उठाउनु भयो र सुरु गर्नु भयो, घुम्तीमा नआऊ है… गाउन । उहाँसँगै उहाँको मखमली स्वरमा हामीले पनि साथ दियौं । गीत गायौं । महोल साँच्चै अविश्मरणीय भएको थियो ।
जन्मदिनको अवसरमा एउटा केक काटिनु, रंगीचंगी खादा ओडाउनु र बजारबाट एक पिस बुके लगेर दिनु आँफैमा ठूलो कुरा त नहोला तर त्यो अग्रज श्रष्ठाप्रतिको सम्मान थियो । उहाँको कलाको सम्मान थियो । मृत्युपर्यन्त सम्मानका दुई शब्द प्रकट गरेर गोहीका दुई थोपा आँसु झार्र्नुभन्दा पनि जीवन छँदै यसरी दिइने सम्मान वास्तवमै श्रष्ठाका लागि ठूलो सम्मान हो । प्रतिभाको कदर हो र आत्मबल बढाउने माधयम पनि हो ।
प्रश्ना साक्य, जुना प्रसाँई, मिलन मोक्तान, सिताराम पोखरेल दाई, ऋतु कर्णेल लगायतका हामी थुप्रै कलाकर्मी दाइको घर पुगेका थियौं ।
प्रश्ना साक्य, जुना प्रसाँई, ऋतु कर्णेलले दाइले गाउनु भएको नमान लाज यसरी.. बोलका गीत गाउनु भयो । यो गीतमा दाइ आँफैले गीतारमार्फत मुखडा उडाउनु भएको थियो । आहा… कति रमाइलो भएको थियो । एउटा नबिर्सिने दिन । सँधै सँधै सम्झिरहने दिन ।
मखमली स्वरका धनी उहाँले गाउनु भएका घुम्तीमा नआउ है…, देउरालीमा बतास चल्यो… लगायतका थुप्रै कालजयी गीतहरु आज पनि तपाईहरुलाई जस्तै मलाई पनि उत्तिकै राम्रो लाग्छ । यीनै गीत गाएर हुर्किएका हामीले उहाँसँगै यी गीत गायौं । साँच्चै रमाइलो भएको थियो त्यो दिन । अरुअरु अग्रज श्रष्टाहरुलाई पनि यसैगरी सम्मान र नमन गर्न पाइयोस् ।