प्रदेश र संघको चुनावले देशलाई छपक्कै छोपेको छ । यही बेला राजनीतिक दलमा धु्रविकरणको लहर छ । सँगै सरकारमा मन्त्री फेरबदलको खेल जारी छ । पौने एक सयको हाराहारीमा मन्त्री छन् । विना विभागीय मन्त्री र विभागीय मन्त्री झण्डै बराबरी छन् । विना विभागीय राज्यमन्त्रीहरुको लर्को कम लामो छैन । सामाजिक सञ्जालमा काठमाडौंमा ठेस लाग्यो भने माननीय मन्त्रीहरुसँग लाग्ला है भनेर ब्यग्य पोष्ट भैरहेका छन् । उपप्रधानमन्त्री नै विना विभागीय मन्त्री छन् । यो उदेकलाग्दो ताण्डब दृश्य जनताले हेरिरहेका छन् । दलहरुले देखाइरहेका छन् ।
देशबाट १०४ वर्ष लामो राणा शासन ढल्यो, २३९ वर्षे शाही शासन ढल्यो, ३० वर्षिय पञ्चायती व्यवस्था पनि बाटो लाग्यो । प्रजातन्त्र, लोकतन्त्र हुँदै देश गणतन्त्रमा अवतरण गरे । देशबासी जनताबाट नागरिक भए । व्यवस्था परिवर्तन भयो तर दलहरु परिवर्तन भएनन् । दलमा नेता थपिँदै गए, नेतृत्व परिवर्तन हुँदै गयो । जनताले कहिले नयाँ दललाई पहिलो दलको आकार दिए। कहिले पहिलो दललाई तेस्रो दलमा झारिदिए । कहिले पहिलोलाई दोस्रो र दोस्रोलाई पहिलो बनाइदिए । शीर्ष नेतालाई नै निर्वाचनमा हारको स्वाद चखाइदिए तर दलीय प्रवृत्ति झनझन पतन हुँदै गयो । नेतृत्वको चेत पलाएन । नेता जनतामुखी हुन सकेनन् । नैतिकताको राजनीति सुरु भएन । दलहरुले राजनीतिक दललाई सेवा गर्ने संस्थाको रुपमा लिएनन् कमाइ खाने उद्योगमा परिणत गर्दै गए । फलतः जनतामा निराशा छाएको छ । देशमा रोजगार छैन । जनताका छोराछोरी खाडीका रगत पसिना बगाउन प्लेन चढिरहेका छन् । सयकडा ३५ को दरले लिएको ऋण तिर्न नसकेर गरिब किशानको झुपडी लिलाम भैरहेको छ । साहू महाजनले स्वास्नी छोरोछोरीलाई धम्क्याइरहेका छन् । उता कमाउने गएको घरमुली भने बन्द बाकसमा फर्किरहेको छ ।
तर, नेताको मगजमा यो सत्य कहिल्यै पसेन । कुबुद्धिले कहिल्यै छाडेन । जनताको रगत पसिनाको रेमिटेन्समा पौडी खेल्न कहिल्यै छाडेनन् ।
धन्य राजनीतिक दल र नेताहरु शरम हराएपछि, लाज नै हराएपछि, उत्तरदायित्वबाट च्यूत भएपछि कसको के नै लाग्दोरहेछ र ? गरिब जनताको आँशु, पसिना र रगतको मूल्य तिमीहरुले कहिल्यै तिर्छौं