नेपालै प्यारो

सपनाको देश भनिदै आएको अमेरिका एक्चोटि भए पनि टेक्ने रहर नभएका कति होलान् ? कुनै बहानामा त्यहां पुगेपछि फर्किने नि? अगाडि हेर्‍यो तारे भीर त पछाडि फर्कियो अन्ध गल्छीको अवस्थामा रहेको मुलुकमा दोस्रो प्रश्नको उत्तर सामान्यतया अकरणमा पाइन्छ। त्यस्तो अवसर पाउंदा र सहयात्रीहरु उतै भासिंदा पनि गायिका सुनिता दुलाल भने ‘जन्मभूमिको मायाको त्यान्द्रो समात्दै’ फर्केकी छन्।
‘पांच रुपैयां भए पनि नेपालमै सानले कमाउंछु भनेर फर्किए,’ साढे तीन महिनाको अमेरिका बसाइपछि दसैंअघि देश टेकेकी उनी उपदेशकजस्ती बनिन्, ‘हामीजस्ता कला भएका मान्छेले अमेरिकाका बासिन्दाको जत्तिकै समयको ख्याल गर्ने हो, परिश्रम गर्ने हो भने नेपालमै नाम पनि दाम पनि कमाउन सकिन्छ।’ कुरा गलत होइन, तर सबैलाई होइन।
‘अब त मैलेनि झुम्का लगाउंछु..,’ ‘मेरै दिलमा फुल्यो नीरमाया…,’ ‘भन्ज्याङको वरबाट…,’ ‘च्यान्टीको नि विहे भयो…,’ जस्ता मीठा लोकभाकाको गायिका अस्तिको तीजलाई भ्याउने गरी अमेरिका गएकी थिइन्। दीपकराज गिरी र दीपाश्री निरौलाको नेतृत्व रहेको त्यो टोलीका अन्य सदस्य थिए – ट्वाकेन्द्र गोपाल अधिकारी, यम बराल, नलिना चित्रकारहरु।
सामूहिक प्रस्तुतिका अलावा सुनिताले न्युयोर्क, क्यालिफोर्निया, क्यान्टकी, वासिङ्टन डीसी, भर्जिनियाजस्ता अमेरिकी राज्यका कति ठाउंमा एकल कार्यक्रम पनि गरिन्।
‘अमेरिकामा लोकगीत र दोहोरी बढी मन पराउंदा रैछन,’ सुनिताको अनुभव छ, ‘तर सार्है बिजी लाइफ भएर हो कि क्या हो, श्रोताहरु कार्यक्रम स्थलमा एक/दुई एक/ दुई गरेर आउंथे। कार्यक्रम सकिन लाग्दा भीड बढ्दै जान्थ्यो।’ अमेरिकामा उनलाई तीजका कार्यक्रमले मात्रै सन्तुष्टि दिएछन्। उनका अनुसार त्यंहाका नेपाली महिलाले भन्दा बढी रमाईलो गरेर मनाउंछन्। वासिङ्टन डीसीमा तीन एकल कार्यक्रम उनले लोकभाकाले सहभाहीहरुलाई नचाइन्।
‘यसपालिको तीजमा निकालेको ‘च्यान्टीको नि विहे भयो…’ त्यहां निकै हिट रैछ,’ उनको दाबी रह्यो। अमेरिकामा आफू ‘हिट रहे पनि’ उनको मनले चैन पाएन। दुई दिदी र दुई भिनाजु उतै भए पनि उनलाई आफ्नै माटो प्यारो लाग्यो रे ।
‘बाल्टिमोरमा दिदी-भिनाजुको घरमा म कति दिन रोएर बसे,’ उनले भनिन, ‘नेपालको यादले सताइरहन्थ्यो । त्यहां धनी बनेर अन्जान रहनुभन्दा त नेपालमा साग-सिस्नु खाएर पपुलर रहेकै राम्रो । संगै गएका यम, नलिना र ट्वाकेन्द्र उहिल्यै भिसा सिध्दिएर पनि उतै बसेका बेला आफू भने भिसा अवधि बांकी छंदाछदै यही सोचले थिचिएर फर्केको उनले सुनाइन्।
कर्णप्रिय लोकभाकाहरु सुनाइरहिन् भने उनको नेपाल माया बोक्रे नठहरिएला ।

Published: Kantipur Daily
Date: 21 October 2010

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email